उद्योगलाई प्रिमियममा छुट
काठमाडौँ । बन्दाबन्दीको अवधिमा बन्द रहेका उद्योग–व्यवसायले बीमाको प्रिमियममा छुट पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम बन्दाबन्दीको अवधिमा बन्द रहेका उद्योग–व्यवसायको बीमाको प्रिमियममा छुट दिन लागेको हो ।
सरकारले बजेटमै कोभिड–१९ का कारण सञ्चालनमा आउन नसकेका उद्योग प्रतिष्ठान एवं यातायात साधनको बीमा पोलिसीको म्याद बन्दाबन्दीको अवधिसम्म थप गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ । त्यसैअनुसार बीमा समितिले बन्दाबन्दीको अवधिमा सञ्चालनमा नआएका उद्योग–व्यवसायको बीमाको प्रिमियममा ३३ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
समितिको कार्यालयमा शुक्रबार सरोकारवालाबीच भएको छलफलले बन्दाबन्दीको अवस्थामा सञ्चालनमा नआएका उद्योग–व्यवसायको बीमाको प्रिमियममा छुट दिने निर्णय गरेको हो । छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल बीमक सङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।
समितिका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार संयुक्त छलफलले बन्दाबन्दीको अवधिमा र त्यसपछि पनि सञ्चालनमा नआएका उद्योगको बीमाको प्रिमियममा एक तिहाइ छुट दिने निर्णय भएको छ । उद्योग र व्यवसायलाई छुट कति समयको भन्दा पनि कुन र कस्ता प्रकृतिका उद्योग–व्यवसाय कति समयसम्म सञ्चालनमा आएका छैनन्, सोही आधारमा छुट प्रदान गरिने उहाँले बताउनुभयो ।
आतङ्कवाद र हुलदङ्गा अन्तर्गतको बीमा प्रिमियमलाई पनि सोही अनुरूप छुट दिएर समायोजन गरिने भन्दै उहाँले बन्दाबन्दी खुलेपछि पनि कतिपय उद्योग–व्यवसाय सञ्चालनमा नआएका तथा कुन उद्योग–व्यवसाय कति समय चल्दैनन्, सोही अनुरूप छुट प्रदान गरिने बताउनुुभयो ।
बन्दाबन्दी अवधिमा नवीकरण नभएको स्थितिमा पनि कुनै भवितव्य भएको भए त्यसको जोखिम बीमा कम्पनीले बेहोर्नुपर्ने तथा सो अवधिको बीमा शुल्क तिर्नैपर्ने स्थिति रहेको समितिले जनाएको छ । समितिको निर्णयअनुसार बन्दाबन्दी अवधिमा लाग्ने बीमा शुल्कमा ३३ प्रतिशत छुट वा समायोजनको सुविधा बीमितले पाउने भएका हुन् ।
