चौधरी फाउन्डेसनद्वारा ८ वटा भेन्टिलेटर हस्तान्तरण
चौधरी ग्रुपअन्तर्गतको संस्था चौधरी फाउन्डेसनले नेपाल सरकारलाई कोभिड–१९ का गम्भीर बिरामीहरूका लागि अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरेको छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोगअन्तर्गत स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
अहिले कोभिड–१९ का गम्भीर बिरामीहरूको संख्या वृद्धि भएसँगै अस्पतालहरूमा सघन उपचार कक्ष र भेन्टिलेटरहरूको अभाव भइरहेको महसुस गरी उक्त सहयोग गरिएको जनाइएको छ । फाउन्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बागमती र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउने जनाएको छ । भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चौधरी फाउन्डेसनले भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गरेका थिए । उनले भने, ‘चौधरी फाउन्डेसनले मुलुकलाई अप्ठ्यारो अवस्थामा सधैँ सहयोग पु¥याएको हाम्रो स्मरणमा रहेको छ ।’ फाउन्डेसनले यसअघि नै पिपिई, पिसिआर रिएजेन्ट सहयोग गरेको उनले स्मरण गरे ।
फाउन्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का गम्भीर बिरामीहरूलाई उपचारका लागि सहयोग गर्न फाउन्डेसनले भेन्टिलेटर हस्तान्तरण गरेको बताए । देशमा अप्ठ्यारो र विपद्को समयमा फाउन्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैँ तत्पर रहेको उनको भनाइ थियो । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउन्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको जनाएको छ । पहिलो चरणमा पूर्वदेखि पश्चिमका ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पिपिई, एन–९५ मास्कलगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको फाउन्डेसनले जनाएको छ । दोस्रो चरणमा फाउन्डेसनले कोभिड–१९ को परीक्षण किट सहयोग गरेको थियो । फाउन्डेसनले १ हजार थान ‘पिसिआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको जनाएको छ । तेस्रो चरणमा फाउन्डेसनले कर्णाली, सुदूरपश्चिम र प्रदेश नं. २ मा स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । यो चरणसम्म फाउन्डेसनले १ सय ९९ अस्पताल एवं स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
