ऋण नउठेपछि बैंकहरुको प्रोभिजनिङको दायित्व बढ्यो
काठमाडौं ।लकडाउनका कारण बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उठाउनु पर्ने साँवा–ब्याज पूरै उठाउन सकेनन् ।
यसरी सावाँ-ब्याज नउठे पनि बैंकहरुले त्यसको प्रोभिजनिङका लागि गत वर्षको आम्दनीबाट उल्टै खर्च गर्नुपरेको छ । बैंकरहरुका अनुसार २७ बैंकले नउठेको उक्र कर्जाका लागि १८ अर्ब ७० करोड रुपैयाँ प्रोभिजन गर्नुपरेको छ ।
बैंकर्स संघका अनुसार ०७७ असार मसान्तसम्ममा बैंकहरुले ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता र ब्याज उठाउन बाँकी छ । राष्ट्र बैंकले असार मसान्तसम्म उठाउनु पर्ने साँवा ब्याजलाई असोज मसान्तसम्म उठाउन समय दिएको छ ।
राष्ट्र बैंकले सो अघिनै २०७६ पुस मसान्तसम्म असल वर्गमा रहेको कर्जालाई २०७७ असारमा असल वर्गमा नै वर्गिकरण गर्न पाउने सुविधा बैंकहरुलाई दिएको थियो । जसकारण बैंकहरुले असार मसान्तसम्म पनि साँवा ब्याज नउठेको कर्जामा प्रोभिजन नगर्दा पनि हुन्थ्यो । तर बैंकहरु असार निर्धारित समय सीमामा नउठेको ऋण १८ अर्ब ७० करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाअनुसार प्रोभिजनिङ गरेका छन् । सो प्रोभिजनिङ बैंकले खुद नाफाबाट गरेका हुन् ।
गत आवको पुस मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ५ अर्ब ३ करोड रुपैयाँ कर्जामा प्रोभिजनिङ गरेका थिए । जुन चैत मसान्तसम्म आइपुग्दा ५ अर्ब ३३ करोड रुपैयाँ थप भई १० अर्ब ६१ करोड रुपैयाँ बैंकहरुको कर्जामा प्रोभिजनिङ पुगेको छ । चैत ११ गतेबाट लकडाउन भएसँगै ऋणीले भुक्तानी गर्नुपर्ने साँवा ब्याज असार मसान्तसम्म गर्न सकेनन् । लकडाउनको ३ महिनाको अवधिमा नउठेको साँवा ब्याजमा बैंकहरुले न्यूनतम ५ प्रतिशत प्रोभिजन गरे । जसकारण चैतमा भएकोे प्रोभिजनमा असार मसान्तमा ८ अर्ब ३३ करोड रुपैयाँ थप भई यस्तो प्रोभिजन १८ अर्ब ७० करोड रुपैयाँ बढी पुगेको छ ।
