कोरोना नियन्त्रण र उपचारमा १३ अर्ब खर्च, जोखिम झनै बढ्दो
काठमाडौं सरकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको जानकारी दिए।
संघीय संचित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको उनले बताए। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयले ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयले १ करोड २९ लाख खर्च गरेका छन्।
यस्तै प्रदेशहरूले कोरोना नियन्त्रण र उपचारका लागि १ अर्ब ४९ करोड ७० लाख खर्च गरेका छन्। सर्वाधिक खर्च गर्नेमा स्थानीय तह छन्।हालसम्म स्थानीय तहबाट ६ अर्ब २ करोड खर्च भएको छ।
