ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २०७७ भाद्र १ गते सोमबारदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गर्नुभएको हो । पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उहाँलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताउनुभयो ।“उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो । अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,” ढकालले बताउनुभयो । कार्यक्रममा बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताउनुभयो । उहाँले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताउनुभयो ।
