युनिभर्सल पावर कम्पनीको नाफा ९८ % वृद्धि
काठमाडौं । गत आवको चौथो त्रैमासमा युनिभर्सल पावर कम्पनीको नाफा ९८ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले सो अवधिमा रू. ५ करोड ७१ लाख नाफा कमाएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको नाफा रू. २ करोड ८८ लाख नाफा गरेको थियो । गत आवको चौथो त्रैमासमा अन्य आम्दानी ८१ प्रतिशत वृद्धि भएपछि कम्पनीको नाफा बढेको हो ।
अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ४ करोड ५६ लाख अन्य स्रोतबाट आम्दानाी गरेकोमा गत आवको सोही अवधिमा बढेर रू. ८ करोड ३१ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ भने जगेडा कोषमा रू. १० करोड १४ लाख सञ्चित गरेको छ ।
प्रतिशेयर आम्दानी रू. २ दशमलव ७२, मूल्य आम्दानी अनुपात २५ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ८३ रहेको छ । हाल जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकाले आयोजनाको व्यापारीक उत्पादन शुरु नभएकाले विद्युत विक्री आम्दानी नभएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले दोलखा जिल्लामा निर्माण अवस्थित खारे खोलामा निर्माण गरिरहेको तल्लो खारे खोला जलविद्युत् आयोजना ११ मेवा क्षमताको आयोजनाको निर्माण अन्तिम चरणमा रहेको उल्लेख गरेको छ ।
साथै ४५ मेवा क्षमताको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गर्न लगानी सम्झौता गरेको पनि कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
