व्यापार घाटा १६ प्रतिशतले कमी
पछिल्लो समय नेपालको व्यापार स्थितिमा सुधार देखिएको छ ।आयातित परिमाणको मूल्य उच्च र निर्यात परिमाणको मूल्य न्यून हुँदा सधैँ मुलुकको व्यापार घाटा उच्च रहेपनि लकडाउनका कारण हवाइ र सडक यातायात अवरुद्ध हुँदा सामग्री आयातमा कमी आएपछि व्यापार घाटामा सुधार देखिएको भन्सार विभागले जनाएको छ ।सवारी साधन सञ्चालन नहुँदा अत्यधिक खपत हुने पेट्रोलियम पदार्थको आयातमा समेत कमी आएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयातमा कमी देखिँदा एक आवको व्यापार घाटा सुधारोन्मुख भएको छ । त्यसैगरी व्यापार घाटामा सुधार देखिए पनि निर्यात तर्फ समेत कमी भएको पाइन्छ । विभागका अनुसार गत एक आर्थिक वर्ष (२०७६/०७७) अर्थात् असार मसान्त सम्मको अवधिमा अघिल्लो आव (२०७५/०७६)को सोही अवधिको तुलनात्मक रुपमा भारत लगायत तेस्रो मुलुकसँग नेपालको व्यापार घाटामा सुधार आएको देखिन्छ ।
सो अवधिमा नेपालको भारत लगायत तेस्रो मुलुकसँगको व्यापार घाटा १६ दश मलव ७१ प्रतिशतले कमी आएको छ । गत आवको असार मसान्तसम्मको अवधिमा व्यापार घाटा ११ खर्ब ६४ करोड २३ लाख रहेकोमा अघिल्लो आवको सोही समयमा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख रहेको थियो । विभागका अधिकारीहरुका अनुसार पछिल्लो समयआयातमा कमी हुँदा व्यापार घाटा माझिनो सुधार देखिएको छ । अधिकारीहरु हाल अतिआवश्यक अर्था त्स्वास्थ्य सामग्री मात्र आयात भएको पाइन्छ भने अन्य सामग्रीहरु आयात हुन नसकेको बताउँछन् ।
नेपाली व्यवसायीहरुले गत आवको असार मसान्तसम्मको अवधिमा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख मूल्य बराबरको सामग्री छिमेकी मुलुक भारत, चीन लगायत तेस्रो मुलुक बाट आयात गरेका छन् । जुन अघिल्लो आवको सोही समयको तुलनामा गत आवमा १५ दश मलव ६३ प्रतिशतले आयातमा कमी हो । अघिल्लो आवमा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख मूल्य बराबरको सामग्री व्यापारीहरुले आयात गरेका विभागले जानकारी दिएको छ ।
त्यसैगरी व्यापार घाटा सुधारोन्मुख अर्थात्कमी देखिए पनि निर्यातमा समेत वृद्धि हुनसकेको छैन । गत आवको असार मसान्त सम्मको अवधिमा व्यवसायीहरुले ९६ अर्ब १५ करोड ६७ लाख रुपैयाँ मूल्य बराबरको सामग्री भारत लगायत तेस्रो मुलुकमा निर्यात गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा गत आवमा शून्य दशमलव ९८ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही समयमा ९७ अर्ब १० करोड ९५ लाख मूल्य बराबरको सामग्री निर्यात भएको छ ।
यस्तै सोही अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ९२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो आवको सोही समयको तुलनामा गत आवमा १४ दशमलव ६९ प्रतिशतले कमी हो । अघिल्लो आवमा नेपालको भारत लगायत तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड ४८ लाख रहेको थियो । सोही अवधिमा आयात निर्यातको सूचकांकलाई हेर्दा गत आवमा १२ दशमलव ४५ प्रतिशत र अघिल्लो आवमा १४ दशमलव ६१ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा गत आवमा आयात निर्यात १४ दशमलव ८० प्रतिशतले कमी हो ।
त्यसैगरी कुल व्यापारमा निर्यातको सूचकांक हेर्दा अघिल्लो आवको असार मसान्त सम्मको अवधिमा ६ दशमलव ४१ प्रतिशत रहेकोमा गत आवको सोही समयमा ७ दशमलव ४४ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा गत आवको सोही अवधिमा १६ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको सोही समयमा आयातको सूचकांक ९३ दशमलव ५९ प्रतिशत रहेकोमा गत आवको सोही समयमा ९२ दशमलव ५६ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव १० प्रतिशतले कमी हो ।
