कोरोनाले उद्योग व्यवसाय थलियो, १८ प्रतिशत व्यवसायी पलायन
काठमाडौँ -कोरोना भाइरसको महामारीका कारण करिब १८ प्रतिशत उद्यमी–व्यवसायी आफ्नो व्यवसायबाट पलायन हुने देखिएका छन् । कोरोना महामारी नियन्त्रण गर्न भन्दै गत चैत ११ देखि गरिएको लकडाउनका कारण प्रभावित १७ दशमलव ७ प्रतिशत उद्यमी–व्यवसायी आफ्नो व्यवसायलाई पुनः निरन्तरता दिन नसक्ने भएपछि व्यवसायबाटै पलायन हुने देखिएका हुन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार ८२.३ प्रतिशत व्यवसायीले मात्रै आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने देखिएका छन् ।
कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावकोे अध्ययन गरेको नेपाल राष्ट्र बैंकले ८२.३ प्रतिशत व्यवसायीले बन्दाबन्दीपछि पनि आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिन सक्ने र केहीले बन्द गर्न चाहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदन अनुसार बन्दाबन्दीपछि होटेल तथा रेष्टुरेन्ट बाहेकका व्यवसाय सामान्य अवस्थामा फर्कन औसत ९ महिना लाग्ने देखिएको छ । त्यस्तै होटेल तथा रेष्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १ वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ । राष्ट्र बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी व्यवसायीको सहभागितामा उक्त अध्ययन गरेको जनाएको छ । अध्ययन गर्दा थोक तथा खुद्रा व्यापारबाट २८.२ प्रतिशत, उतपादनमुलक व्यवसायबाट १८.२ प्रतिशत र होटेल तथा रेष्टुरेन्टबाट १६.५ प्रतिशत नमूना लिएर अध्ययन गरेको बताएको छ ।
