गणपति लघुवित्त र गुँरास लघुवित्तको नाफा घट्यो
काठमाडौं । गत आवको चौथो त्रैमासमा दुईवटा लघुवित्त संस्था गणपति लघुवित्त र गुँरास लघुवित्त संस्थाको आम्दानी घटेको छ । यस अवधिमा गणपति लघुवित्त वित्तीय संस्थाको नाफा २१ प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ४ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा रू.२ करोड ३९ लाखमा सिमित भएको हो ।
गत आवको चौथो त्रैमासमा कम्पनीको कर्मचारी खर्च अन्य सञ्चालन खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । सो अवधिमा खुद ब्याज आम्दानी भने ५४ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ९ करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको चौथो त्रैमासमा रू. ६ करोड ९ लाख थियो । गत आवको चौथो त्रैमासमा कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८ प्रतिशत घटेको छ ।
कर्मचारी खर्च र अन्य सञ्चान खर्चमा वृद्धि भएकाले र सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ५८ लाख छुट्याएपछि कम्पनीको सञ्चालन नाफा घटेको हो । चुक्तापूँजी रू. ११ करोड ७ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ३ करोड २५ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ६३, मूल्य आम्दानी अनुपात ३६ दशमलव ७५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ३७ रहेको छ ।
यसैगरी यस अवधिमा गुँरास लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको चौथो त्रैमासमा ७५ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १ करोड ४८ लाख नाफा गरेकोमा गत आवको सोही अवधिमा रू. ३५ लाख ८९ हजारमा सिमित भएको हो । कोरोना महामारी रोकथामको लागि लकडाउन भएकाले लक्ष्य अनुसार कार्यक्रम विस्तार गर्न कठिनाई भएको, कर्जा लिइ व्यवसाय गरेका ऋणीहरुको व्यवसाय सञ्चालन हुन नसकी कर्जा असुलीमा समस्या भएका कारण समग्र कम्पनीको आम्दानीमा कमि आएको र कर्जा नोक्सानी ब्यवस्था बापत खर्च वृद्धि हुन गई कम्पनीको नाफा घटेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १६ प्रतिशत वृद्धि भएको हो । चुक्तापूँजी रू. ८ करोड ३४ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ८ करोड ३४ लाख सञ्चित गरेको छ ।
गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ५५ करोड १९ लाख सापटि लिएर, रू. १४ करोड ११ लाख निक्षेप संकलन गरी रू. ७३ करोड ६९ लाख कर्जा लगानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा निष्क्रिय कर्जा भने वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा निष्क्रिय कर्जा २ दशमलव ७० प्रतिशत रहेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर ३ दशमलव ९४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ३० र प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव ७५ रहेको छ ।
