Economy News

test

तनहुँ जलविद्यु्त्को केवल टनेलको ‘ब्रेक थु्रु’

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो । आयोजनाका प्रबन्धक श्यामजी भण्डारीले १८८ मिटर केवल टनेलको काम सम्पन्न भएको जानकारी दिनुभयो । “केवल टनेलको ब्रेक थु्रु भएको छ, अब विद्युत गृह निर्माणको काम शुरु हुन्छ, त्यसका लागि तयारी भइरहेको छ,” भण्डारीले भन्नुभयो । भण्डारीका अनुसार कोभिड–१९ का कारण शुरुआती चरणमा केही समयका लागि काममा असर परे पनि हाल निरन्तर काम भइरहेको छ । केवल टनेलबाट विद्युत् गृहमा तारहरु लगिनेछ ।

“कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि पहिलोपटक गरिएको बन्दाबन्दीले केही समय आयोजनाको काम प्रभावित भयो,” उहाँले भन्नुभयो, “पछि सरकारले ठूला आयोजनाहरुमा सुरक्षा सावधानी अपनाएर काम गर्न दिने निर्णय भएपछि स्थानीय प्रशासनसँग समन्वय गरेर कामलाई अगाडि बढाएका छाँै ।” आयोजनाका लागि खटिएका कामदार आयोजनाकै क्याम्पमै बसिरहेका छन् ।    

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक) मा सम्झौता भएको थियो ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामको लागि पुनः बोलपत्र आह्वान भएकामा एशियाली विकास बैङ्क (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको छ । पहिलो प्याकेजको ठेक्का लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको छ ।

एडिबीले चार वटा कम्पनीको प्रस्तावलाई रद्द गरिदिएपछि अब नयाँ ठेक्का प्रक्रिया शुरु गर्न कम्तीमा छ महिना लाग्ने बताइएको छ । बोलपत्र रद्द भएपछि आयोजनाको निर्माण अवधि पनि पछाडि धकेलिएको छ । आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत् गृहको पहुँच मार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण भइकेको छ । बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । बाँधस्थलको पहुँच मार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप पाँच प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृत् गृह निर्माण गरिने छ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनाको विद्यृत् गृह निर्माणका लागि २८८ मिलियन डलर, प्रशारण लाइन तथा सवस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनस्र्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको  छ ।

———

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us