नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धिसम्बन्धी वेभिनार सम्पन्न
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ द्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि विषयक व्यवसायिक वेभिनार छलफल कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले संवोधन गर्नुभयो । आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार माथि प्रकाश पार्नुभयो । उर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधननै दुवै देशको सवैभन्दा ठूलो शक्ति भएकाले यसको समुचित उपयोग मार्फत समृद्धिको यात्राका लागि सहकार्यमा जोड दिनु भयो । महासंघ र सीआईआई बीचको आपसी सम्बन्धको चर्चा गर्नुहुंदै दुवै संस्थाको सहकार्यबाट आपसी हितमा थुप्रै क्षेत्रमा सहकार्य र प्रतिफल समेत प्राप्त भएको स्मरण अध्यक्ष राणाले गर्नुभयो । कोभिड पश्चात विश्वको आर्थिक परिदृश्यमै आमुल परिवर्तन आउने कुराको संकेत दिनुहुंदै अध्यक्ष राणाले त्यसको तयारीका लागि आगामी दिनमा महासंघ र सीआईआई दुवै संस्था बीचको सहकार्य अझ घनीभुत ढंगमा अगाडी बढनुपर्ने धारणा राख्नुभयो ।
नेपालस्थित भारतीय राजदूतावासका द्वितिय वाणिज्य सचिव कपिध्वज प्रताप सिंले महासंघ र सीआईआईले निकै सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा खुुशी व्यक्त गर्दै आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने र त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउनु भयो ।
कार्यक्रममा सीआईआई साउथ एशिया कमिटिका सहअध्यक्ष एवं हाइड्रो विजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुहुंदै कोभिडबाट आर्थिक तथा सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर परेको यथार्थता राख्दै कोभिड पश्चातको आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । सीआईआई र महासंघ बीचको सहकार्य माथि प्रकाश पार्नुहुंदै उहांले कार्यक्रम आयोजनमा सहयोग पु¥याएकोमा महासंघलाई धन्यवाद समेत दिनुभयो ।
छलफल कार्यक्रममा भारतका तर्फबाट अशोककुमार प्रुष्टि र नेपालको तर्फबाट महासंघका कार्यकारिणी समिति सदस्य एवं निम्वसका व्यवस्थापन निर्देशक आनन्द बगारिया, एफक्यानका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे र होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पूर्वाधार, उर्जा, कृषि, उत्पादनमुलक र सेवा क्षेत्रमा विषयगत प्रस्तुती दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले कार्यक्रमले दुवै देश बीच कोभिड पश्चात आपसी सहकार्य एवं आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धनमा महत्वपूर्ण मार्ग निर्देश गरेको स्पष्ट पार्नुभयो । साथै उहांले महासंघ र सीआईआईबीच अहिलेको कठिन घडीमा निरन्तर संवादमा समेत जोड दिनुभयो ।
