Economy News

test

सेतीखोला जलविद्युत आयोजना निर्माण सुरू

भिजन लुम्बिनी कम्पनीले सेती खोला जलविद्युत आयोजनाको काम अघि बढाएको छ।दुई वर्ष लामो अध्ययन र निर्माणको अनुमति लिने कागजी प्रक्रिया पूरा गरेर कम्पनीले निर्माण थालेको हो।सरकारले असार १ गतेदेखि आयोजना निर्माणको अनुमति दिए पनि कम्पनीले त्यसअघिदेखि नै काम थालिसकेको थियो।निर्माण गर्न अनुमति पाउने लगभग निश्चित भएपछि कम्पनीले फागुन २ गतेदेखि नै सेती खोलामा काम थालेको थियो।

चैत ११ देखि लकडाउन भएपछि रोकिएको काम वैशाख दोस्रो सातादेखि सुचारू भयो। असार १ गते सरकारले आयोजना बनाउन अनुमति दियो।आयोजनाले अहिले सेतीखोलाबाट पानी लैजाने कुला अर्थात् एप्रोच कल्भर्ट र पानी थिग्राउने पोखरी बनाउने काम थालेको छ।

अबको दुई सातापछि द्रुत गतिमा आयोजनाको काम अघि बढ्ने प्रवर्द्धक भिजन लुम्बिनी कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए।‘आयोजनाको मजदुर बस्ने क्याम्पहरू बनिरहेका छन्, दुई सातापछि ३ सय जना मजदुरले काम थाल्छन्’, उनले भने, ‘हामी यो आयोजना तोकिएको समयभन्दा अगावै सक्छौं।’२५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ। यो आयोजना २७ महिनामा सक्ने गरी सरकारले अनुमति दिएको पोखरेलले बताए।

माछापुच्छ्रे २ स्थित सेती खोलामा बगेको पानी बाँध बाँधेर एप्रोच कल्भर्टमार्फत् करिब ५ सय मिटर टाढा रहेको राजबगरस्थित थिग्राउने पोखरीमा लगिनेछ। पानीसँगै आएका बालुवाका कण तीन वटा पोखरीमा थिग्रिएपछि पानी पाइपको माध्यमबाट ६ किलोमिटर टाढा आयोजनाको पावरहाउस रहने स्थान चिन्टेबगरमा लगिनेछ।

यसरी लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताको दुई वटा टर्वाइनमा जोडिनेछ। आयोजनाको हड १ सय ८७ मिटर रहेको छ। आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारणमा जोड्न साढे ४ किलोमिटर ट्रान्समिसन लाइन पनि प्रवर्द्धक कम्पनीले नै बनाउने गरी सम्झौता भएको अध्यक्ष पोखरेलले बताए।

यस आयोजनाबाट उत्पादित बिजुली लाहाचोकमा निर्माणाधीन सवस्टेसनमा जोड्ने उनले बताए। आयोजना बनाउन चाहिने जग्गाको अधिग्रहण अन्तिम चरणमा पुगेको आयोजना प्रमुख इञ्जिनियर लेखनाथ पाण्डेले बताए। आयोजना क्षेत्रमा पर्ने साढे ३ हेक्टर जग्गामध्ये अधिकांश अधिग्रहण भइसकेका छन् भने सार्वजनिक जग्गा भोगचलनका लागि सरकारसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको पाण्डेले बताए।

आयोजनाको विस्तृत डिजाइन गरेका हाइड्रो कन्सल्ट्यान्टका प्रमुख श्यामप्रसाद भुषालले यस आयोजना अरुभन्दा बढी वातावरणमैत्री, सस्तो र उपयुक्त भएको दाबी गरे।आयोजनाबाट ५ महिना पूर्ण क्षमतामा बिजुली उत्पादन हुने र बाँकी समय उत्पादन घटबढ हुने उनले बताए। नेपाल विद्युत प्राधिकरणसँग प्रवर्द्धक कम्पनीले सेतीखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ७० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसा प्रति युनिटका दरले खरिद विक्री सम्झौता (पिपिए) भएको छ। आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँमा एनएमबी बैंकले ३ अर्ब रुपैया लगानी सुनिश्चित गरिदिएको छ। नपुग रकम कम्पनी, स्थानीयवासी र आम सर्वसाधारणको शेयर लगानीबाट जुटाइने बताएको छ। । प्रवर्द्धक र स्थानीयवासीले लगानी रकम सुनिश्चित गरिसकेको भन्दै उनले सर्वसाधारणका लागि पनि शेयर खुला गर्ने बताए।कम्पनीले अहिलेसम्म ७ सय जना स्थानीयको शेयर संकलन गरिसकेको जनाएको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us