कोरोनाका कारण २२ प्रतिशतले गुमाए रोजगारी
काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा २२.५ प्रतिशतले रोजगारी गुमाएका छन्। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेसँगै रोजगारी गुमाउने क्रम सुरु भएको हो। केन्द्रीय तथ्यांक विभागका अनुसार नौ लाख प्रतिष्ठानमा ३४ लाख कर्मचारी कार्यरत छन्। साढे दुई लाख प्रतिष्ठान छन्। कोरोनाले अर्थतन्त्र चलायमान हुन नसकेपछि उद्योगी÷व्यवसायीले कर्मचारी कटौती गर्दै आएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले समेत कोरोना भाइरसका कारण १५ लाखदेखि २० लाख श्रमिकले रोजगारी गुमाउन सक्ने तथ्यांक सार्वजनिक गरेको थियो।
बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीसँग गरेको सर्वेक्षणका आधारमा निकालिएको निष्कर्षअनुसार होटल र रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौति गरेका छन्। त्यस्तै, रोजगारी गुमाउनेमध्ये करिब दुई तिहाई अस्थायी र करारका कर्मचारी र कामदार छन्। अध्ययनअनुसार १८.२ प्रतिशतको पारिश्रमिक कटौती भएको छ। चार महिनाको अवधिमा अर्थतन्त्र खुम्चिएपछि प्रतिष्ठानले रोजगारीबाट हटाउनुका साथै पारिश्रमिकसमेत घटाएका छन्। यसले गर्दा श्रमिकललाई साँझबिहान हात मुख जोड्न धौधौ भएको छ। राष्ट्र बैंकले कोभिड–१९ ले ५२ जिल्लाका ६ सय ७४ उद्योगी÷व्यवसायीबीच अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा सर्वेक्षण गरेको थियो। प्रतिवेदनअनुसार उद्योगी÷व्यवसायीले पछिल्लो समय खर्च जोगाउन कर्मचारी कटौती गर्न थालेका छन्।
प्रतिवेदनअनुसार कर्मचारी कटौती भएकामध्ये अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै छन्। यसमा सबैभन्दा धेरै होटल तथा रेस्टुरेन्ट कर्मचारी र कामदार कटौती गरेको देखिएको छ। यस अवधिमा घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारले अन्यको तुलनामा धेरै कर्मचारीरकामदार कटौती गरेको पाइएको छ। तलब कटौती गर्नेमा होटल तथा रेस्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन्। यस्तै, ठूला उद्योग÷व्यवसायले अन्यको तुलनामा धेरै तलब कटौती गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ।
कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउका कारण देशमा सञ्चालित ६१ प्रतिशत उद्योग/व्यवसाय बन्द रहेको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको सर्वेक्षण प्रतिवेदनले बन्दबन्दीको कारणले ३५ प्रतिशत उद्योग व्यवसाय आशिंक रुपमा र ४ प्रतिशत उद्योगमात्र पूर्ण रुपमा सञ्चालन भएको देखाएको छ । बन्दाबन्दीका बेला सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरूमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोबार घटेको सर्वेक्षणले देखाएको छ । यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै एक चौथाइ कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ। यसरी कटौतीमा पर्नेमा अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै छन्। सोही अवधिमा उद्योगव्यवसायले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेका छन्। बन्दाबन्दीमा ९६.७ प्रतिशत उद्योग÷व्यवसायको उत्पादन र कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको छ।
राष्ट्र बैंकको सर्वेक्षणमा सहभागी उद्योगी व्यवसायीले पहिलेकै अवस्थामा ल्याउन ९ महिना लाग्ने बताएका छन् । सामान्य अवस्थामा फर्कन सबैभन्दा बढी अवधि रियल स्टेट, भाडा तथा व्यावसायीक क्रियाकलाप क्षेत्र १३.८ महिना र होटल तथा रेष्टुरेन्ट क्षेत्र १३.२ महिना र सबैभन्दा कम अवधि ५.१ महिना सञ्चार क्षेत्रमा लाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सामान्य अवस्थामा फर्कन साना उद्योग/व्यवसायहरुलाई सबैभन्दा धेरै (९.५ महिना) र मझौला उद्योग÷व्यवसायहरुलाई सबैभन्दा कम (८ महिना) लाग्ने देखिएको छ । सामान्य अवस्थामा फर्कन घरेलु उद्योग र मझौला उद्योग÷व्यवसायहरुले राष्ट्रिय औसतभन्दा कम अवधि लाग्ने बताएका छन् ।सर्वेक्षणमा सहभागी ८२.३ प्रतिशत उद्योग÷व्यवसायहरुले बन्दाबन्दी पश्चात अहिलेकै व्यवसायलाई निरन्तरता दिने बताएका छन् । कारोबार घटाएर अहिलेकै व्यवसायलाई निरन्तरता दिने योजना रहेका उद्योग÷व्यवसायहरुको संख्या ४.५ प्रतिशत रहेको छ भने नयाँ व्यवसाय शुरु गर्न चाहने ५ प्रतिशत रहेका छन् । ५.४ प्रतिशतले व्यवसाय बिक्री गर्न र २.८ प्रतिशतले बन्द इच्छा व्यक्त गरेका छन् ।
