नेपाल बंगलादेश बैंकद्वारा रेम्डेसिभिर सहयोग
काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक मानिएको औषधि रेम्डेसिभिर सहयोग गरेको छ । बैंकले रू. २ करोड २५ लाख बराबरको सो औषधि सहयोग गरेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै एनबी बैंकको संयुक्त लगानी बैंक आईएफआईसी, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा कोभिड–१९ को उपचारमा प्रयोग हुने ५ हजार थान रेम्डेसिभिर औषधि सहयोग गरिएको हो ।
उक्त परिमाणको औषधि बिहीवार ढाकास्थित नेपाली राजदूत डा. बंशीधर मिश्रालाई सहयोग गरिएको बैंकले बताएको छ । उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने आशा बैंकले गरेको छ ।
एनबी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि संघीय सरकारको कोभिड–१९ फन्डमा रू. १ करोड ४५ लाख प्रदान गरिसकेको छ ।
