Economy News

test

खुल्यो बजारः भएन व्यापार

चितवन, १२ साउन (रासस)ः लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन । उधारो उठ्न नसकेको र सामान थप गर्न नगद किन्नुपर्ने बाध्यता भएको व्यवसायीहरुले बताएका छन् ।

नारायणगढको पुल्चोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सका सञ्चालक सूर्यभक्त अधिकारी पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको बताउनुहुन्छ । आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उहाँको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको अधिकारी बताउनुहुन्छ ।

सञ्जु एयर कन्डिशन नारायणगढका सञ्चालक विष्णु कँडेल १० प्रतिशत पनि व्यापार नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अत्यावश्यक क्षेत्रमा बाहेक अन्यत्र व्यापार हुन सकेको छैन ।” फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष खिमलाल अर्याल पहिलेको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताउनुहुन्छ । बजारमा मान्छेको भीडभाड बढ्दै गएको भए पनि व्यापार हुन नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “कोरोनाको डर एकातर्फ, अर्कोतर्फ क्रय शक्ति नै घट्यो ।”

 जिल्लामा फेन्सीमात्र पाँच हजारभन्दा बढी रहेको भन्दै उहाँले यस क्षेत्रमा मात्र रु १५ अर्बभन्दा बढी लगानी भएको बताउनुभयो । घरभाडा, कर्मचारीको पारिश्रमिक र बंैकको ब्याज तिर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको उहाँको भनाइ छ । पसल खोलेर कुर्ने काममात्र भएको अर्यालले बताउनुभयो । फेन्सीमा जुत्ता र कस्मेटिक व्यवसायी पनि पर्दछन् । सामान्यतया जुत्ता दुई वर्षपछि आफैँ उप्कने भन्दै अर्यालले धेरै सामग्री बिग्रिएर जाने अवस्थामा रहेको बताउनुभयो । कस्मेटिक सामग्रीको म्याद सकिने र कपडाको डिजाइन जाने भएकाले व्यवसायीले ठूलो नोक्सानी व्यहोर्ने अवस्थामा पुगेको जनाएका छन् । कपडा व्यवसायी सङ्घ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको पनि उस्तै गुनासो रहेको छ ।

अहिले पसल कुरेर बस्दा २० प्रतिशत पनि व्यापार गर्न नसकेको उहाँले दुःखेसो पोख्नुभयो । विदेशबाट पैसा आएको छैन यहाँको पनि आम्दानी नभएपछि कसरी व्यापार गर्ने उहाँले गुनसो गर्नुभयो । जिल्लामा दुई सय ५० हाराहारी कपडा पसल रहेका छन् । व्यापारीले घरभाडा तिर्न नसकेको श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले भाडामा दिएको दुईवटा सटरको भाडा तिर्न उनीहरुले सकेका छैनन् ।” किराना व्यवसायीको पनि आफ्नै गुनासो रहेको छ । अत्यावश्यक सामग्रीमा पर्ने भएकाले ५० प्रतिशत हाराहारी व्यापार भए पनि खर्च धान्न सक्ने अवस्था नरहेको किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष रवीन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

जिल्लामा तीन हजारभन्दा बढी किराना व्यवसायी रहेको उहाँले जानकारी दिनुभयो । व्यापार कम भए पनि खर्च उही हुने गरेको छ । उहाँले भन्नुभयो, “अहिले नगदमा सामान ल्याउनु पर्छ । उधारोमा बेच्नुपर्ने बाध्यता रहेको छ”, पुरानो उठाउनुपर्ने रकम उठ्न नसक्दा व्यवसाय धान्न मुस्किल भएको श्रेष्ठले बताउनुभयो । होटल तथा रेष्टुरेन्ट बन्द हुँदा व्यवसाय प्रभावित छ । अरू काम नपाएपछि खाली सटर खोजेर किराना व्यापार गर्नेहरु बढ्दै गएकाले पनि पुराना व्यवसायीको व्यापार घट्दै गएको छ । जिल्लाको प्रमुख शहरी क्षेत्रमा एउटै सटरको रु ५० हजारसम्म भाडा तिर्नुपर्ने हुन्छ ।

उद्योग वाणिज्य सङ्घ र वस्तुगत सङ्घसंस्थाको पहलमा घरधनीले एक महिनादेखि दुई महिनासम्म भाडा छुट गरेका छन् । बजारमा लकडाउन हटेसँगै मानिसको आवतजावत केही बढेको छ । यद्यपि अन्य सुनचाँदी, तरकारी तथा फलफूल, होटल, हार्डवेयर, इलेक्ट्रोनिक्स लगायतका अधिकांश व्यवसाय प्रभावित छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ सार्वजनिक यातायात सञ्चालन नभएका कारण व्यापार हुन नसकेको बताउनुहुन्छ । सार्वजनिक यातायात सञ्चालन हुँदा छिमेकी जिल्ला र यसै जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा सामान किन्नका लागि बजार आउने गर्दथे । लकडाउनपछि कोरोनाको त्रासले अत्यावश्यक काम चलाउ सामग्री स्थानीय बजारमा किनमेल गरेर गर्जो टार्ने गरेका छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us