‘सुनको मूल्य बढ्यो, कारोबार शून्य’
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु. एक हजार ६०० ले बढेर रु. एक लाख एक हजार चारमा पुगेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष उमेश सुनुवारले बताए । “यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।”
कञ्चनपुरमा १६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उनले यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताए । “लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो ।” उनले भने, “काठमाडौँभन्दा यहाँ सुनको मूल्य रु एक हजार २०० ले बढी हुन्छ ।” यहाँ लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बर्जाचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्य वृद्धि भएको बताए। विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुनबजारलाई सुरक्षीत क्षेत्रको रुपमा लिँदै लगानी बढाएको उनले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ। महासचिव बज्राचार्यका अनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा २३ सय देखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन्।
गतवर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको भएको थियो। आज सुन एक वर्षपछि तोलामा ३३ हजार ४ सयले बढेको हो। सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाई छ। बुधबार विश्व बजारमा प्रति आउन्स २ हजार ५५ डलरमा कारोबार भइरहेको छ।
