चीनले बढायो केरुङबाट आउने कन्टेनरको कोटा
काठमाडौं – चीनले केरुङ नाकाबाट दैनिक रुपमा भित्रिने कन्टेनरको कोटा बढाएको छ । निरन्तरको आग्रह र कुटनीतिक प्रयासपछि चीनको केरुङ भन्सारले दैनिक दोब्बर संख्यामा कन्टेनर पठाउन थालेको हो ।
यसअघि दैनिक ४ वटा कन्टेनरको मात्रै जाँचपास गरिदिने गरेकोमा शुक्रबारदेखि दैनिक ८ वटा कन्टेनरको जाँचपास गरेर नेपालतर्फ पठाउन थालेको छ । रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले पहिरोका कारण सडक बन्द १२ दिनदेखि कुनैपनि सामान आउन नसकेकोमा अवरोध खुलेपछि शुक्रबारदेखि सामान आउन थालेको जानकारी दिए । उनले अब दैनिक ८ वटा कन्टेनर पठाउने जानकारी आएको समेत बताए ।
चिनियाँ पक्षले नेपाल भित्रिने कन्टेनरको संख्या दोब्बर बनाए पनि त्यो पर्याप्त भने होइन । सामान्य अवस्थामै औसत ३० वटा कन्टेनरहरु नेपाल आउने गर्छन् । सुरुमा लकडाउनका कारण महिनौँदेखि अड्किएका र पछिल्लो समय पहिरोका कारण बाटो अवरोध हुँदा थपिएका समेत गरी सयौं कन्टेनरहरु सीमापारि अड्किएका छन् । यद्यपि पहिरोको अवरोध खुलेपछि कोटा दोब्बर बनाउनु सकारात्मक रहेको छ ।
