न्यादी जलविद्युत् आयोजना निर्माण ९० प्रतिशत सम्पन्न
लमजुंग जिल्लामा पर्ने मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडास्थित न्यादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । आयोजना निर्माण चैत ०७३ बाट सुरु भएको हो । आयोजनाको बाँध क्षेत्रको जग खनेर सकिएको न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार चार किलोमिटर सुरुङ ढलान पनि भइसकेको छ । यस्तै, विद्युत्गृहको सिभिल संरचना निर्माण पनि सम्पन्न भइसकेको छ । आयोजनामा सुरुङसहित सात सय ४५ मिटर पेनस्टक पाइप राखिनेछ । विद्युत्गृहमा उपकरण जडान ७० प्रतिशत सकिएको छ भने आयोजनाको ड्याम र इन्टेकको काम सकिएको उनले बताए । आयोजनाले अबको ६ महिनामा व्यावसायिक विद्युत् उत्पादन थाल्नेछ ।
यो आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ । निर्माणाधीन प्रसारण लाइन विद्युत् उत्पादन सुरु हुने अवधिभित्र तयार नभए आयोजनाबाट उत्पादित विद्युत् टारिकुना सबस्टेसनमा जोड्ने कम्पनीको योजना छ । आयोजनाले १३२ केभीको लाइन बनाउने योजना गरे पनि सोही खोलामा निर्माणाधीन आयोजनाहरूसँग सहकार्य भयो भने त्यसमै डबल सर्किट प्रसारणलाइन बनाउने आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । टारिकुनासम्म विद्युत् प्रसारण लाइन बनेपछि त्यहीँबाट राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गरिनेछ ।
आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।
साना जलविद्युत् गुरुयोजनाअन्तर्गत सन् १९९३ मा पहिचान भएको ङादीको सुरुको क्षमता २.८ मेगावाट थियो । पछि यसलाई २० मेगावाट हुँदै ३० पुऱ्याइएको हो । बिपिसीले लेड्कोबाट यो आयोजना सन् २००६ मा खरिद गरेको थियो । बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनीको २ दशमलव ७८ प्रतिशत लगानीमा आयोजना निर्माण भइरहेको छ ।
