इजि ट्याक्सी र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सम्झौता
इजि एस्योरेन्स प्रा. लि. अन्र्तगतको इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसंग व्यवसायिक सम्झौता गरेको छ । बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरे ।
सो सम्झौतापछि इजि ट्याक्सी अन्र्तगत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्स प्रा. लि.ले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्झौतापछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।
‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक सन्जित पौडेलले भने ।
मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्धेश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो ।जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ । रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नाम लगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनैपनि क्युआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाईमा परेको छ । इजि ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आईरहेको छ ।
