सिडिएस एण्ड क्लियरिङको सिइओमा तीनजनाको नाम सिफारिस
काठमाडौं – सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत पदका लागि अन्तिम तीन जनाको नाम सिफारिस भएको छ। संचालक समितिका सदस्य निरञ्जन फुँयालका अनुसार आइतबार समितिले कृष्ण गिरी, भीष्म चालिसे र पूर्णप्रसाद आर्चायको नाम सिफारिस गरेको हो। अब, सिडिएसले ती तीनमध्येबाट एक जनालाई सिइओमा छनोट गर्नेछ।
चालिसे पुराना मर्चेन्ट बैंकर हुन्। आचार्य कृषि विकास बैंकको पूर्व कर्मचारी हुन् भने गिरि प्रभु क्यापिटलमा कार्यरत छन्। सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेको थियो। उक्त पदमा सात जनाको आवेदन परेको थियो। पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सिइओ चयन नहुन्जेलसम्मको लागि कायम मुकायम सिइओको काम कञ्चन सापकोटाले गर्दै आएकी छन्। सिइओको लागि पूर्णप्रसाद आचार्य, मानबहादुर खत्री, दिनेशकुमार बर्तौला, डिल्लीप्रसाद चौधरी, कृष्ण गिरी, कृष्ण लामिछाने र भीष्मराज चालिसेले आवेदन दिएका थिए। यीमध्ये लामिछाने बाहेकका ६ जना पहिलो चरणमा सर्ट लिस्टमा परेका थिए। ६ जनाबाट ३ जना सिफारिसमा परेका हुन्।
