Economy News

test

रैनापुरमा बिजुली पुग्यो

काठमाडौं पहिला सडकमा ट्र्याक्टर मात्र गुड्थे । गाउँमा आगलागी भयो भने अर्काे दिन बिहान दमकल आइपुग्थ्यो । “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भन्नुभयो, “आगलागीको अर्र्र्काे दिन बल्ल दमकल आइपुग्यो ।” नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर दुर्गम नभए पनि दुर्गम देखिनका लागि अनगिन्ती विशेषता बोकेको थियो । नरैनापुर गाउँपालिकाको सुइया गाउँमा देखिएको उत्साहले प्रदेशसभा सदस्य कृष्णा केसी नमूना पनि उत्साहित हुनुहुन्छ । सबैको सहयोग अनि समन्वयले नरैनापुरमा बिजुली बाल्ने कुरा सम्भव भएको उहाँले बताउनुभयो । “यसको सदुपयोग अब यहीँका जनताले गर्ने हो”, उहाँले भन्नुभयो, “सिक्टाको पूर्वी नहर आउँदैछ अब नरैनापुरलाई कृषि केन्द्र बनाउनुपर्छ ।” दुई दशकअघि नरैनापुरवासीले बिजुलीका पोल मात्र देखेका थिए ।

हरेक चुनावमा नेताले गाउँमा बिजुली बाल्ने सपना देखाए तर नरैनापुर–५ मुन्सीप्रसाद यादवले गाउँमा बिजुली बलेको कहिले देख्नुभएको थिएन । अहिले पहिलोपटक पोलमा बत्ती बलेको उहाँले देख्नुभयो । “गाउँमा बत्ती बलेको देख्दा निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो, “अब हाम्रो गाउँ पनि उज्यालो हुने भयो ।” चार बिघा जमिनमा नालाको पानी बोरिङ गरेर उहाँ खेती गर्नुहुन्छ । घरमा सोलारबाट बत्ती बाल्नुहुन्थ्यो । टिभी हेर्न ब्याट्री चार्ज गर्न भारत पुग्नुपथ्र्यो । घरमा बिजुली नभएका कारण सबै कोठामा पङ्खा जडान गरिएको थिएन । “अब खेतीका लागि बोरिङ गर्न सजिलो हुनेभयो”, उहाँले भन्नुभयो, “खेती किसानी गर्ने सबैलाई फाइदा हुने भयो ।”

यादव मात्रै होइन बिजुली बलेको देख्दा गाउँमा नै खुशियाली छाएको छ । नरैनापुर–१ मजुरोटीका अहमद दर्जी बिजुली आउनु गाउँकै लागि खुशीको कुरा भएको बताउनुभयो । “बत्ती र सडक नहुँदा धेरै दुःख थियो, सोलारले बत्ती बाल्थ्यौँ”, उहाँले भन्नुभयो, “बत्ती नहुँदा परीक्षामा केटाकेटी राम्रोसँग पढ्न पाउँदैनथे ।” नेपालगञ्जबाट पैँतीस किलोमिटर दूरीमा रहेको नरैनापुर पुग्न पाँच घण्टा लाग्थ्यो । पुल बन्नुअघि राप्तीमा डुङ्गा चल्थ्यो । स्थानीयवासी डुङ्गाकै भरमा किनमेल अनि सरकारी कामका लागि नेपालगञ्ज पुग्थे । “नून तरकारी भारतबाट लिएर खान्थ्यौँ”, नरैनापुर–५ मटेहयाका ७१ वर्षीय नन्कउ नाउले विगत सम्झँदै भन्नुभयो, “बिरामी भयौँ भने यहीँ मथ्र्यौँ ।” केही वर्षअघि आफैँ खुट्टाको क्यान्सरले थला परेपछि उहाँ उपचारका लागि नेपालगञ्ज पुग्न सक्नुभएन । छ महिना लखनउमा उपचार गर्नुभयो । ।

नरैनापुरबाट भारत पुग्न तीन घण्टा लाग्छ । नेपालगञ्ज पुग्न पाँच घण्टा लाग्थ्यो । “अहिले सडक बनेयता एक घण्टामा नेपालगञ्ज पुगिन्छ”, नाउले भन्नुभयो, “बाटो बनेपछि नेपालगञ्ज पुग्न सजिलो भयो ।” “वडामा र कार्यालयमा मात्र अहिले बत्ती बाल्ने हो भन्ने कुरा सुनेको छु”, उहाँले भन्नुभयो, “गाउँमा खम्बा र तार केही पुगेको छैन ।” क्षेत्रीय विद्युत् प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले गाउँगाउँमा खम्बा गाडिएकाले तार जडान गर्न मात्र बाँकी रहेको बताउनुभयो । उहाँले विपन्न समुदायले बिजुलीबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । “निःशुल्क तार, मिटर एमसिबी जडान गर्छौं”, ठाकुरले भन्नुभयो, “बत्ती बालेबापत आएको शुल्क मात्र तिर्नुपर्छ ।” तेत्तीस केबीको लाइन विस्तार गर्नुका साथै सवस्टेशन पनि जडान गरिसकेको उहाँले बताउनुभयो ।

 –––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us