राष्ट्र बैंकले विवरण माग्न थाल्यो
काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मर्जरका लागि बैंक तथा वित्तीय संस्थासँग सेयरधनीको विवरण माग गरेको छ । राष्ट्र बैंकले सोमबारसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थासँग संस्थापक सेयरधनीको विवरण उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एकाघर परिवारको सेयर स्वामित्व भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जाने निर्देशन दिने उल्लेख छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि गत आर्थिक वर्षको असार मसान्तसम्म कायम सेयरधनीको विवरण पठाउन भदौ १५ गतेसम्मको समयावधि तोकेर बैंक तथा वित्तीय संस्थालाई चिठी पठाएको थियो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने ‘मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार नै मर्जरको काम भइरहेको हो,’ ।
राष्ट्र बैंक नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई संस्थापक सेयरधनी, संस्था, फार्म, कम्पनीको दर्ता गर्ने सम्बन्धित निकायबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसारको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण समेत माग गरेको छ । बैंक तथा वित्तीय संस्थालाई मर्जर गर्न आवश्यक रहेको ठानिए पनि कति संख्यामा झार्न सकिन्छ भन्नेबारे अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले मर्जर हुने बैंक तथा वित्तीय संस्थलाई सुविधाका थुप्रै कार्यक्रम दिने घोषणा गरेको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकको हकमा २०७९ असार मसान्तसम्म अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्ने अनुपातमा ०.५० प्रतिशत बिन्दुले छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
२०७८ असार मसान्तभित्र गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रिया पूरा गरी संयुक्त कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकको हकमा २०७९ असार मसान्तसम्म कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातमा एक प्रतिशत विन्दुले छुट प्रदान गरिने सुविधा मौद्रिक नीतिमा छ ।
साथै २०७८ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया पूरा गरी संयुक्त कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकले २०७९ असार मसान्तसम्म कायम गर्नुपर्ने निक्षेप सीमामा थप ५ प्रतिशत विन्दुसम्म संस्थागत निक्षेप परिचालन गर्न सक्ने छुट दिइएको छ ।
विभिन्न स्रोतका अनुसार यतिखेर ६ ठूला बैंक फोर्स मर्जरको सूचीमा छन् । क्रस होल्डिङका लागि व्यक्ति नभई परिवार वा समूहको दुई बैंकमा लगानी भएकोलाई मानिनेछ । स्रोतका अनुसार एनआइसी एसिया र एनएमबी, हिमालयन र इन्भेस्टमेन्ट, सनराइज र सिद्धार्थ बैंकमा क्रस होल्डिङ भएको यकिन भइसकेको छ । अन्य बैंक तथा वित्तीय संस्थामा पनि क्रस होल्डिङ भएको राष्ट्र बैंकका अधिकारीहरूको अनुमान छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तसम्म २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी र ८५ लघुवित्त सञ्चालनमा छन । अर्थतन्त्रको आकाररको आधारमा समेत नेपालमा १५–१८ वाणिज्य बैंक, ८–१० विकास बैंक र करिब ३० लघुवित्त भए पुग्ने सम्बद्ध अधिकारी बताउँछन् ।
