बिहीबारदेखि होटल, पर्यटन खुल्दै
काठमाडौँ । एकातिर नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ भने अर्कोतिर होटल तथा रेष्टुरेन्ट र पर्यटनका सामान्य क्षेत्र यही साउन १५ गतेपछि खुल्दैछन् भने भदौ १ देखि लामो दूरीका सवारी साधनका साथै हवाईसेवा पनि शुरु गर्ने सरकारले जनाएको छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरिसकेको छ । दोस्रो प्रभावित भएको क्षेत्र (लामो दूरीको सार्वजनिक सवारी) पनि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय आएको छ । भदौ १ देखि विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधिसमेत सञ्चालन हुँदैछ । सोही दिनबाट आन्तरिक र बाह्य व्यावसायिक हवाई उड्यान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
कुनै होटल सञ्चालन गर्नुप¥यो भने होटलका सबै क्षेत्रलाई सङ्क्रमणरहित (डिसइन्फेक्सन) गर्नुपर्छ । अन्य पर्यटन क्षेत्र, सेवा क्षेत्र होस् या अन्य व्यावसायिक क्षेत्रमा पनि यही मापदण्ड लागू गर्नुपर्छ । आउने र जाने मान्छेलाईसमेत ख्याल गर्नुपर्छ । उनीहरुले पनि स्वास्थ मापदण्ड अपनउनुपर्छ । तब मात्रै यसबाट जोगिन सकिन्छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्नका लागि आवश्यक ‘डिसइन्फेक्सन’का क्षेत्रमा काम गर्दै आएको खेम्स क्लिनिङ सर्भिसका अध्यक्ष विश्वास अधिकारी भन्नुहुन्छ, “जति भीडभाड हुन्छ त्यति बढी नै सावधानी अपनाउनुपर्छ, त्यसमा पनि व्यक्तिले मात्रै सावधानी अपनाएर हुँदैन, तोकिएको क्षेत्रफल पूरै सतर्कताको घेरामा पार्नुपर्छ ।”
कतिपय होटल व्यवसायीले आफ्नो तयारी गरिसकेका पनि छन् । उनीहरुले आफ्ना कर्मचारीलाई तालीम दिएर क्षेत्र सुरक्षित राख्ने काम थालेका बताएका छन् । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिशेक विक्रम शाह विश्व स्वास्थ्य सङ्गठन र नेपाल पर्यटन बोर्डले तयार पारेको मापदण्डलाई पछ्याउँदै आफ्ना सबै जनशक्तिलाई प्रशिक्षित बनाएर रिसोर्टमा आवश्यक सुरक्षा मापदण्ड अपनाइएको बताउनुहुन्छ । उहाँका अनुसार १०० श्यया क्षमताको रिसोर्टलाई ५० प्रतिशत मात्रै सञ्चालन गर्ने योजनाका साथ तयार पारिएको छ । केबलकारमा भने आठ जना क्षमतालाई ५० प्रतिशत घटाइएको छ । सरकारले होटल साउन १५ बाट खुला गर्ने निर्णय गरिसकेको छ । “हामीले सबै तयार पारिसकेका छौँ, आशा छ केवलकार सञ्चलनमा समेत सरकारले छिट्टै निर्णय लिनेछ”, शाहले भन्नुभयो । उहाँका अनुसार दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म पर्यटक आउने चन्दागिरि महिनौंदेखि सुनसान हुँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ ।
अब उक्त पर्यटकीय केन्द्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर कर्मचारीलाई पनि आवश्यक तालीम दिइसकिएको उहाँले बताउनुभयो । होटल एशोसिएसन नेपालका अनुसार मुलुकका होटल क्षेत्रमा मात्र करिब रु १६ खर्ब लगानी छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । यसबाट करिब २५ प्रतिशत विदेशी मुद्रा आर्जन हुने गरेको छ । कोभिड– १९ ले आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ । प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएको होटल एशोसिएसन नेपालका अध्यक्ष सिृर्जना राणाको भनाइ छ । अन्य पर्यटनसँग जोडिने हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबासकार्यक्रममा भएको आर्थिक क्षति अनुमान गर्न सकिन्न । अध्यक्ष राणाले सरकारले होटल व्यवसाय सञ्चलन गर्न दिने निर्णय गरेसँगै यसका आवश्यक जनशक्तिलाई तालीम दिएर तयार पारिएको पनि बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष दीपक भट्टराई बाह्य राष्ट्र कोरोनाबाट बढी प्रभावित भएकाले पर्यटक आगमन हुँदा अझै सावधानी अपनाउनु जरुरी छ भन्नुहुन्छ । उहाँका अनुसार सौराहाका होटलसमेत आवश्यक सरसरफाइ र सुरक्षा मापदण्ड प्रयोग गरेर मात्रै खुल्ने तयारी गरिरहेका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन गरिएको तयारी त्यसै खेर गएको छ । यो वर्ष २० लाख पर्यटन नेपाल ल्याउने अनुमान कोरोनासँगै हराएर गयो ।
पर्यटकको स्वागत सत्कारका लागि ठूलो लगानी थपेका पर्यटन व्यवसायी अहिले बैंकको ब्याज तिर्न नसकेकार आलसतालस परेको बताउँछन् । अन्य व्यवसायको अवस्था पनि उही छ । यसले पनि हरेक क्षेत्र चलायमान बनाउन व्यवसायीहरु आतुर छन् भन्ने देखिन्छ । तर सबैले उपयुक्त स्वास्थ्य मापदण्ड प्रयोग गरेका छन् त ? यो गम्भीर प्रश्न उठेको छ । महामारीपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने मापदण्ड होटल क्षेत्रले निर्माण गरिसकेको र सुरक्षित मापदण्ड अपनाउनेसम्बन्धी जनशक्तिलाई त्यस मापदण्डअनुसारको तालीम दिएर तयारी अवस्थामा पुगेका छन् । विश्व नै कोभिड–१९ बाट जुधिरहेको अहिलेको अवस्थामा पनि यसबाट बच्ने खास सुरक्षित मापदण्ड अपनाउँदै आफ्नो पेशा, व्यवसायलाई सामान्यतर्फ फर्काउने प्रयत्नमा लागेको देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा कतिपय व्यवसाय सञ्चालन भइसकेका छन् ।
–––
