कर तिर्ने म्याद कम्तिमा २ महिना थप्न चेम्बरको माग
काठमाडौं – नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न सरकारसँग माग गरेको छ । काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अहिले पनि पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्व सचिवलाई पत्राचार गर्दै अहिले राजश्व दाखिला गर्न सक्ने अवस्थामा उद्योगी–व्यवसायी नरहेको बताउनुभयो । पहिलेको लकडाउनभन्दा अहिले कडा निषेधाज्ञा गरिएका कारण कर सम्बन्धी सबै कागजात तयार पार्न पनि समय लाग्ने भएकाले समय थपिदिनुपर्ने अध्यक्ष श्रेष्ठको आग्रह गर्नुभएको छ । निषेधाज्ञाका कारण खातापाताहरु कारोबार स्थलमै रहेको र अहिले कारोबार स्थलमा जान पनि नसकिने अवस्था रहेका कारण कर तिर्न नसकिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।सरकारलाई राजश्व तिर्न निजी क्षेत्र सधैं तयार रहेको भन्दै उहाले महामारीका बेला व्यवहारिक कठिनाइ भएका कारण समय थप गर्नु पर्ने बताउनुभयो ।
