शेयर बजार १५०० विन्दु मुनि
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार १० दशमलव ४५ अंक घटेर १ हजार ४९९ दशमलव ९७ विन्दुमा झरेको छ । यो दिन शून्य दशमलव ६९ प्रतिशत बजार ओरालो लागेको हो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ५४ अंक घटेर ३०२ दशमलव १९ विन्दुमा झरेको छ ।
गत साताको कारोबारमा निरन्तर बढेको बजार अन्तिम कारोबार दिन घटेर बन्द भएको थियो । आइतवार रू. २ अर्ब ७८ करोड २३ लाख ७७ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन १९१ ओटा कम्पनीको ३४ हजार ८६३ पटकको व्यापारमा ७० लाख ३८ हजार ९९० कित्ता शेयर खरीदविक्री भएको हो ।
यस दिन पनि सर्वाधिक कारोबार रकमको स्थान नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । उक्त कम्पनीको रू. ४० करोड १३ लाख १ हजार बराबरको शेयर कारोबार भएको हो ।उतारचढावका बीच घटेर बन्द भएको बजारमा पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस दिन सबैभन्दा बढी उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव ९० प्रतिशत शेयरमूल्य बढेको छ । यस दिन प्रतिकित्ता रू. ९० ले शेयरमूल्य बढेको उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू. ९९९ कायम भएको छ ।
यो कम्पनीसँगै अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८२ प्रतिशत , जोशी हाइड्रोपावरको ९ दशमलव ६२ प्रतिशत, राधी विद्युत कम्पनीको ९ दशमलव ६२ प्रतिशत र युनिभर्सल पावर कम्पनी लिमिटेडको ९ दशमलव ५२ प्रतिशत शेयरमूल्य बढेको छ ।
यस दिन एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य ९ दशमलव ८७ प्रतिशतले घटेको छ । यस दिन प्रतिकित्ता रू. ५३ ले शेयरमूल्य घटेर उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू. ४८४ कायम भएको छ ।
आइतवार कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापारिक समूहको २ दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।
यस दिन बैंकिङ समूहको शून्य दशमलव ६६ प्रतिशत, होटल समूहको १ दशमलव ६६ प्रतिशत, विकास बैंकको १ दशमलव १७ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ५३ प्रतिशत, वित्त समूहको शूव्न्य दशमलव ३ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३५ प्रतिशत, अन्यको १ दशमलव २७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४१ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव २९ प्रतिशत परिसूचक घटेको छ ।
