सबस्टेसन निर्माण सुरु
हेटौँडा । नेपाल विद्युत् प्राधिकरणले पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा विद्युत् प्रसारण सुधारका लागि सबस्टेसन निर्माण सुरु गरेको छ । मनहरी गाउँपालिका–८, बेलुवामा जग्गा खरिद गरी सबस्टेसन निर्माण थालिएको प्राधिकरणले जानकारी दिएको छ । हाल सबस्टेसनको सिभिल कार्य भइरहेको छ ।
प्राधिकरण हेटौँडा कितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी सबस्टेसन निर्माण कार्य अघि बढेको हो । हेटौँडाबाट युनिलिभर फिडरअन्तर्गत १९५ किलोमिटर सर्किट लेनमा सधैँ विद्युत् अवरोध भइरहने र भोल्टेज घट्ने समस्या आइरहेकाले एक दशकदेखि पश्चिम मकवानपुरका विद्युत् उपभोक्ता समस्या भोग्दै आएका छन् । सबस्टेसन निर्माण भई सञ्चालनमा आइसकेपछि २०÷३० मिटरका सर्किट लाइन बन्ने जनाइएको छ । बेलुवामा निर्माण हुने सबस्टेसनमा चितवनको भण्डारास्थित सबस्टेसनबाट ३३ केभी लाइन जडान हुनेछ । त्यसपछि बेलुवा सबस्टेसनबाट ११ केभी लाइनका तीनवटा फिडर जडान हुनेछन् । एउटा फिडर हेटौँडातर्फ नवलपुरसम्म पुग्नेछ, दोस्रो फिडर मनहरी बजार आसपास र तेस्रो फिडर राक्सिराङ, कैलाश गाउँपालिकातर्फ जडान गरिनेछ।
सबस्टेसन सञ्चालनमा आउँदा पश्चिम मकवानपुरका क्रसर उद्योग तथा अन्य हाइभोल्टेज मेसिन सञ्चालन गरिरहेका उद्योगसहित कुल २५ हजारभन्दा बढी ग्राहक लाभान्वित हुनेछन् ।
