Economy News

test

कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा

श्रावण १६, २०७७ 
यज्ञ बञ्जाडे
काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम ९अधिक तरलता० निरन्तर बढ्दो छ । गत आर्थिक वर्षको अन्त्यमा भएको सरकारी खर्च बैंक तथा वित्तीय संस्थामा आएको, नयाँ कर्जा माग नभएको, रेमिट्यान्स वृद्धिलगायत कारण वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढिरहेको हो । राष्ट्र बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब २ खर्ब ५ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।
‘प्रणालीमा अधिक तरलता भएपछि एक साताका लागि रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बजारबाट झिकिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । उक्त पैसा झिक्दा पनि अझै १ खर्ब ८५ अर्ब रुपैयाँ अधिक तरलता रहेको उनले बताए । राष्ट्र बैंकले आह्वान गरेको रिभर्स रिपोका लागि १९ वटा बैंक तथा वित्तीय संस्थाबाट ८३ अर्ब ५ करोड रुपैयाँको माग भएको थियो । रिभर्स रिपोको बट्टादर ०।०३० प्रतिशत छ । गत साताको तुलनामा यो कम हो । राष्ट्र बैंकले गत साता पनि रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ तानेको थियो । त्यसको परिपक्वता अवधि पूरा भए पनि बिहीबार पुनः सोही रकम बराबर पैसा झिकिएको हो । बजारमा अधिक तरलता धेरै भइरहँदा पनि ब्याजदरको लोभले राष्ट्र बैंकले पैसा नतानेको आरोप लागिरहेका बेला पछिल्ला दुई सातामा लगातार पैसा उठाउन थालिएको हो । रिभर्स रिपोलगायत उपकरणमार्फत राष्ट्र बैंकले बजारबाट पैसा तान्दा सो रकमको ब्याज तिर्नुपर्छ । यसकारण वित्तीय प्रणालीमा धेरै तरलता थुप्रिँदा पनि बजारबाट पैसा नझिक्दा राष्ट्र बैंकलाई ब्याजको लोभले पैसा नतानेको आरोप लाग्दै आएको छ । करिब एक महिनापछि गत सातादेखि मात्र राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेको छ ।
नयाँ कर्जा माग छैन
नयाँ आर्थिक वर्षको सुरु र लकडाउन हटे पनि बैंक तथा वित्तीय संस्थामा कर्जाको माग छैन । पुराना ऋणीले केही ऋण थप गरे पनि नयाँ कर्जाको माग नभएकाले तरलता थुप्रिएको बैंकहरू बताउँछन् । राष्ट्र बैंकले गत चैतमा स्वीकृत ऋणमा २० प्रतिशत कर्जा सीमा थप गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यही व्यवस्थाले केही ऋण गए पनि ठूलो परिमाणमा नयाँ ऋणको माग नभएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । अर्थतन्त्र बिस्तारै चलायमान बन्दै गएकाले अब कर्जाको माग पनि बढ्ने उनको अनुमान छ । पछिल्ला महिनामा बैंकमा केही प्रतिपत्र ९एलसी० भने खुलेका छन् । गत असारको तुलनामा साउनमा एलसी खुल्ने दर केही कम भए पनि क्रम नरोकिएको बैंकरहरू बताउँछन् । हाल दसैं र तिहारलाई लक्ष्य गरी सामान आयात गर्न एलसी खुलेको बताइएको छ ।
निक्षेप कर्जा दुवै घटे
अघिल्लो साताको तुलनामा गत साता निक्षेप र कर्जा दुवै घटेका छन् । तर निक्षेपभन्दा कर्जाको घट्ने दर उच्च छ । गएको साता वाणिज्य बैंकहरूको निक्षेप २६ अर्बले घटेको छ । अघिल्लो साता ३४ खर्ब ८७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप गत साता घटेर ३४ खर्ब ६२ अर्ब रुपैयाँमा सीमित छ । सोही अवधिमा बैंकहरूको कुल कर्जा भने ३६ अर्ब रुपैयाँ घटेको छ । अघिल्लो साता २९ खर्ब ३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा गत सातासम्म घटेर २८ खर्ब ६७ अर्ब रुपैयाँ छ ।
असार मसान्तमा भुक्तानी गर्नुपर्ने केही कर्जा असुली भएकाले बैंकहरूको लगानीमा रहेको कुल कर्जा घटेको बताइएको छ । ‘ऋणीले बैंकमा राखेको निक्षेप निकालेर कर्जा भुक्तानी गरेका हुन सक्छन्,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘अहिले खासै काम पनि नभएकाले निर्माण व्यवसायी तथा अरू व्यापारीबाट कर्जा भुक्तानी भएको देखिन्छ ।’ अहिले बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर पनि घटाएका छन् । तर पुरानो ऋणमा भने ब्याजदर खासै घटेको छैन । यसकारण केही व्यापारीले महँगो ब्याजको ऋण भुक्तानी गरी सस्तोमा लिन चाहेकाले पनि कुल लगानीमा रहेको कर्जा घटेको उनले बताए ।
पुरानो ऋण खोसाखोस
नयाँ कर्जाको माग नभएपछि बैंकबीचमा पुरानै कर्जा खोसाखोस गर्ने प्रवृत्ति सुरु भएको छ । एउटा बैंकबाट कर्जा लिएको ऋणीलाई अवधि नसकिँदै उक्त ऋण अर्को बैंकमा सार्नुलाई कर्जा ‘स्वाप’ भनिन्छ । बैंकहरूले कर्जा स्वाप गर्न पाउँछन् । तर अहिले यसका लागि अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको स्वयं बैंकरहरू नै बताउँछन् । ‘अर्को बैंकबाट ऋण लिएको ऋणीलाई आफ्नो बैंकमा तान्ने र पुरानोभन्दा सस्तो दरमा धेरै कर्जा प्रवाह गर्ने प्रवृत्ति सुरु भएको छ,’ शेरचनले भने, ‘बैंकहरूले यस्तो काम नगरिदिए हुन्थ्यो । त्यसले विकृति ल्याउँछ ।’
कर्जाको तानातान हुँदा वास्तविक समस्यामा परेका साना ऋणीले सुविधा नपाई अनावश्यक तर ठूला र पहुँचवाला ऋणीले सुविधा पाएको उनले बताए । आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यतिर ९भदौ अन्तिम र असोज महिना० मा कर्जाको माग उच्च हुने भएकाले अहिलेको अधिक तरलता सामान्य अवस्थामा वा केही कमीको अवस्था पनि हुन सक्ने उनको भनाइ छ ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकमा मात्र ६ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्लो आवको असारको तुलनामा गत आवको सोही अवधिमा निक्षेप करिब २१ प्रतिशत बढेको हो । सोही अवधिको कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन वृद्धिदर बढी हो । गत असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ३४ खर्ब ८७ अर्ब रुपैयाँ छ । गत आवमा वाणिज्य बैंकहरूले कुल ४ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्षको कर्जा प्रवाह करिब १६ प्रतिशतले बढी हो । गत असार मसान्तमा बैंकहरूको कुल कर्जा प्रवाह २९ खर्ब ३ अर्ब रुपैयाँ छ ।कान्तिपुर दैनिकबाट साभार

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us