बन्द उद्योगको सेयर कारोबार
सेयर बजारमा आज एउटा रमाइलो घटनाक्रम भने देखियो । उद्योग बन्दगर्ने सूचना दिएको श्री राम सुगर मिल्सको सेयरमा लगानी कर्ताका आकर्षण देखियो । आज बिहान नेप्सेलाई उद्योग बन्द भएको सूचना दिएको सो उद्योगको सेयर प्रतिकित्ता ३३८ मा कारोबार भयो । आज सो उद्योगको सेयर प्रतिकित्ता रु १६ ले वृद्धि भयो।
प्रति कित्ता रु ३२२ मा कारोबार शुरु भएको सो कम्पनीको सेयरमा एका एक वृद्धि भई ३३८ पुग्यो तर उद्योग बन्द भएको सूचना भने यस अघिनै सार्वजनिक भइसकेको थियो । जानकारहरुका अनुसार उद्योगले चर्चेको जग्गा बिक्री गरी उखु किसान, कर्मचारी लगायत अन्यलाई समेत भुक्तानी गर्ने तयारी गरेको भन्ने हल्ला बजारमा फैलिए सँगै श्री राम सुगर मिल्सको सेयरमा वृद्धि भएको हो ।
कर्मचारीलाई तलब भत्तासम्म खुवाउन नसकेको भन्दै उद्योगले आइतबार देखि बन्द भएको नेप्सेलाई जानकारी दिएको छ । आव २०७५-७६ सम्म कम्पनीको कूल घाटा रु दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ पुगेको छ । नेपालको पुरानो मध्येको एक श्री राम सुगर मिल्स बन्द भएपछि रौतहट आसपासका किसानलाई भने आफूले लगाएको उखु बिक्री गर्न समस्या देखिएको छ । मङ्गलबार देखि भने सो कम्पनीको सेयर नियमित कारोबार हुने छैन।
