कोरोना बिमा गर्ने साढे ७ लाख
काठमाडौँ । शुक्रबारसम्म ७ लाख ४६ हजार ८ सय ५० जनाले यस्तो बिमा गरेका छन् । सो अवधिमा ८० हजार ३ सय ३ वटा बिमालेख बिक्री भएका छन् । ती बिमालेखबाट ४२ करोड १० लाख ३० हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।
पछिल्ला दिनमा बिमा कम्पनीमा बिमा दाबी ह्वात्तै बढेको छ । गत शुक्रबारसम्म ३ सय ५२ जनाको दाबी परेको छ । परेका दाबी कुल ३ करोड ३७ लाख रुपैयाँ बराबरको हो । त्यसमा ७७ जनाले भुक्तानी पाइसकेका छन् । जसमा ६९ जनालाई प्रतिव्यक्ति एक लाख गरी ६९ लाख रुपैयाँ र आठ जनालाई प्रतिव्यक्ति ५० हजार गरी ४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । परेका दाबीमध्ये २ सय ७६ वटाको भुक्तानी बाँकी छ । जसमा २ सय ५२ वटा प्रतिव्यक्ति एक लाख बिमांक भएका दाबीको २ करोड ५२ लाख रुपैयाँ र २४ वटा प्रतिव्यक्ति ५० हजार रुपैयाँ बिमांकको १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । बिमा समितिको निर्देशनअनुसार कागजात पुगेका दाबीलाई बढीमा एक साताभित्र भुक्तानी दिइसक्नुपर्छ । तर पछिल्ला सातामा दाबी भुक्तानी नभएर थुप्रिने क्रम बढी छ । आवश्यक कागजात नभएकाले केही दाबी भुक्तानी गर्न नसकिएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए ।
कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री थालिएको हो । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् । चालु आर्थिक वर्षदेखि सरकारले सबै राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बिमा गरेको छ । हाल निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षकलगायत सबै गरी करिब सवा ५ लाख सरकारी कर्मचारी छन् । सरकारले यी कर्मचारीको एक लाख रुपैयाँको निःशुल्क बिमा गर्ने व्यवस्था छ ।
