साधारण सेयर निस्कासनमा बुक बिल्डिङ विधि लागू
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर निस्कासन प्रक्रियामा बुक बिल्डिङ विधि लागू गरेको छ । बोर्डको साउन २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागू गरी नयाँ व्यवस्थाअनुसार साधारण सेयर निस्कासन विधि बुधबारदेखि लागू गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निस्कासन गर्नसक्ने व्यवस्था गरी प्रक्रियागत व्यवस्थाहरू निर्देशिकामा समावेश गरी लागू गरेको बोर्डले जनाएको छ ।
निर्देशिका अनुसार संगठित संस्थाले निस्कासन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्छ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आसय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आसय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र सोही आधारमा मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्यमा थिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने बोर्डले जनाएको छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निस्कासन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपछि योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत् धितोपत्र निस्कासन गर्नु पर्नेछ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निस्कासित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शतप्रतिशत रकम तोकिएको निस्कासन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने व्यवस्था निर्देशिकामा रहेको छ ।
स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोलकबोल प्रणाली सञ्चालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली सञ्चालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्ने व्यवस्था समेत निर्देशिकाले समेटेको छ । योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुँदा कायम हुने मूल्य निर्धारण गरी कटअफ मूल्य र सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कटअफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रूपमा बाँडफाँट गर्नु पर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्नेछ ।
सर्वसाधारण लगानीकर्तालाई कटअफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निस्कासन गर्नुपर्ने छ । सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुनेछ । प्रारम्भिक सार्वजनिक निस्कासनमा बुक बिल्डिङ विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा हुने, निस्कासनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने अपेक्ष बोर्डले गरेको छ ।
