बीमाको दाबी भुक्तानी पाउन सरकारी प्रयोगशालामा कोरोना पोजेटिभ आउनुपर्ने
काठमाडौं – सरकारबाट अनुमतिप्राप्त गरी कोभिड १९ को संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण गरिरहेका निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बिमाको दाबी भुक्तानी नपाइने भएको छ। बिमा समितिले कोरोना बिमा गराइरहेका निर्जीवन बिमा कम्पनीहरुलाई पत्र पठाउँदै निजी ल्याबबाट आएको पोजिटिभ रिपोर्टका आधारमा दाबीभुक्तानी नदिन भनेको हो । यो निर्देशनसँगै उत्साहपूर्वक कोरोनाबिमा गराउनेहरुले आफूहरु ठगिएको महसुस गरेका छन् ।
५० हजार र १ लाख रुपैयाँका दुई खालका बिमालेखको स्किम आएसँगै यसमा सहभागी हुनेहरुको तँछाडमछाड नै चलिरहेको छ । सपरिवारको कोरोना बिमा गराउँदा प्रतिव्यक्ति रु ३०० तिर्दा ५० हजार र रु ६०० तिर्दा १ लाखको बिमा हुने भएपछि सर्वसाधारणको यसप्रति आकर्षण बढिरहेको छ । तर, यही बेला बिमा समितिले भने कोरोना बिमा दाबीभुक्तानीमा फ्रड हुन थालेको भन्दै निजी ल्याबहरुबाट आएको रिपोर्टलाई मान्यता नदिन र सो रिपोर्टका आधारमा दाबीभुक्तानी नगर्न कम्पनीहरुलाई पत्र पठाएको हो ।
कोरोना बिमा मापदण्डको परिच्छेद ३ मा प्रष्ट रुपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिन दिनभित्र दाबीभुक्तानी गर्नुपर्ने भनिएको छ । यही बुँदालाई थप प्रष्ट्याउँदै बिमकहरुलाई पत्र पठाइएको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले जानकारी दिए । निजी ल्याबहरुको रिपोर्टलाई समेत मान्यता दिंदा फ्रड हुने संभावना बढ्यो, त्यही भएर सो बुँदालाई थप प्रष्ट पारेको हो । हालसम्म कोरोना बिमा गराउनेहरुको संख्या ९ लाख नजिक पुगिसकेको छ ।
