बैंकहरुको कर्जा बढ्न थाल्यो, निक्षेप भने घट्दै
काठमाडौँ – पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा लगानी बढ्न थालेको देखिएको छ। लकडाउन यता सन्तोषजनक रुपमा बढ्न नसकेको कर्जा पछिल्लो केही सातामा भने विस्तारै बढ्दै गएको छ। नेपाल बैंकर्स संले उपलब्ध गराएको तथ्याँक अनुसार साउनको तेस्रो साता बैंकहरूको कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ। पछिल्ला दिनहरुमा केही कर्जा असुल समेत भइरहेकाले कर्जा नबढेको देखिएको थियो। अब भने विस्तारै कर्जा बढ्न थालेको तथ्याँकले देखाउँछ।
साउन २३ गतेसम्ममा २७ वाणिज्य बैंकहरूको कर्जा लगानी २८ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो साता कुल कर्जा लगानी २८ खर्ब ६६ अर्ब रुपैयाँ थियो। तेस्रो साता निक्षेप संकलन भने घटेको छ। गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्ब रुपैयाँले घटेको हो। संघको तथ्याँक अनुसार साउन २३ गतेसम्ममा बेंकहरको कुल निक्षेप ३४ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ। लकडाउन यता उच्च रुपले बढ्दै गएको बैंकहरूको निक्षेप संकलन साउन लागेदेखि नै केहि घट्न थालेको देखिएको छ। साउन पहिलो साता २५ अर्ब रुपैयाँले घटेको बैंकहरुको निक्षेप संकलन दोस्रो साता भने २५ अर्बले बढेको थियो।
