वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने
काठमाडौं – वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्नै पाउने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ जारी गर्दै गर्दै बाणिज्य बैंकका हरेक शाखाबाट अनिवार्य रुपमा विदेशी मुद्रा खरिद तथा विक्री गर्नुपर्ने व्यवस्था गरेको हो ।
सोका लागि बैंकहरुले विदेशी मुद्राको कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटा अनुमतिपत्रबाटै काम गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् सबै शाखाहरुले अनिवार्य रुपमा विदेशी मुद्रा खरीद गर्नुपर्ने छ ।
बैंकहरुले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न बाणिज्य बैंकले एकमुष्ट रुपमा ५ लाख रुपैयाँ बुझाउनु पर्छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ राष्ट्र बैंकलाइ बुझाउनु पर्नेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद÷बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षको लागि अनुमति पत्र दिनेछ ।
त्यसरी इजाजत लिएका बैंक वा संघसंस्थाले आचासंहिता पालना नगरेमा वा नियमन उल्लङ्घन गरेमा त्यस्ता संस्थालाई एक वा एकभन्दा बढी सजाय, जरिवाना वा दुबै गर्न सक्नेछ । जस अनुसार सचेत गराउने, लिखित चेतावनी दिने, विदेशी विनिमयको कुनै वा सबै कारोबारमा रोक लगाउने, बैंकमा रहेको नगद धरौटी जफत गर्ने वा जमानतबाट असुल गर्ने, नियमन उल्लङ्घनको प्रकृति हेरी १० लाख रुपैयाँसम्म नगद जरिवाना र इजाजतपत्र निलम्बन वा रद्द गर्न सक्नेछ ।
