अनलाइनबाटै भन्सार विभागको अत्यावश्यक सेवा
काठमाडौं । भन्सार विभागले आफ्ना अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाटै स्वीकृती दिने भएको छ । कोरोना संक्रमणको जोखिम बढेको र सरकारले समेत ५० प्रतिशत जनशक्तिबाट सेवा प्रदान गर्न आदेश दिएसँगै विभागले अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाट दिने भएको हो ।
विभागले सूचना जारी गर्दै अत्यावश्यक र अनलाइनमार्फत दिने बाहेकका बढि जनसम्पर्क हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।
विभागको सूचनाअनुसार नीति महशुल तथा वर्गिकरणको काम लिनका लागि इमेलबाटै आवेदन गर्न सकिनेछ । कुटनीतिक तथा महशुल छुट सम्बन्धि सेवा लिनका लागि तोकिएको इमेलमा आवेदन पठाउनुपर्ने छ। त्यसको जवाफ विभागले इमेलबाटै दिने छ।
वर्गिकरण पुनरावलोकन र मूल्यांकन पुनरावलोकनको काम समेत ईमेलमाध्यमबाट नै हुनेछ भने त्यसरी प्राप्त हुने ईमेललाई समयमा नै प्राप्त भएअनुसार मानिने विभागको भनाई छ । एक्जिम कोड जारी गर्ने तथा नविकरणका लागि पनि अनलाइनबाटै सेवा पाइने विभागले जानकारी दिएको छ । तर एक्जिम कोड खारेजी र बैंक ग्यारेन्टी लगायतका कार्य भने अनलाइनबाट नहुने र त्यस्ता कार्य हाल स्थगन गरिएको जनाएको छ ।
