रु ३९ अर्बको विदेशी लगानी प्रतिवद्धता
काठमाडौँ, ५ साउन । उद्योग क्षेत्रमा गत आर्थिक वर्ष २०७६÷०७७ का लागि रु ३९ अर्ब विदेशी लगानी प्रतिवद्धता आएको छ । २२६ उद्योगमा रु ३८ अर्ब ६५ करोड विदेशी लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । विभागको तथ्यांकानुसार कुल लगानीमध्येमा सबैभन्दा धेरै चीन सरकारबाट आएको छ ।
चीनबाट १ सय ७४ उद्योगमा रु २५ अर्ब ५७ करोड प्रतिवद्धता आएको विभागका प्रवक्ता विनोद कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चीनपछि भारतबाट १६ उद्योगमा रु तीन अर्ब ५७ करोड लगानी प्रतिवद्धता आएको छ । २ सय २६ उद्योगका लागि विभिन्न १७ देशबाट लगानी प्रतिवद्धता आएको जनाइएको छ । विभागका प्रवक्ता खड्काका अनुसार उद्योगको संख्यामा कमी आएतापनि लगानीमा बृद्धि भएको छ ।
विभागमा प्रतिवद्धता आएका उद्योगमध्येमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आएतापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा मुलक क्षेत्रमा ७३ उद्योगका लागि रु एघार अर्ब ३५ करोड, पर्यटन क्षेत्रमा ८१ उद्योगका लागि रु दश अर्ब ९६ करोड ६९ लाख, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि रु ७० अर्ब ८१ करोड प्रतिवद्धता आएको छ । यसैगरी उत्पादन मुलक क्षेत्रका २३ उद्योगमा रु २ अर्ब ७६ करोड, उर्जा क्षेत्रका ८ उद्योगमा रु छ अर्ब तीन करोड, कृषि तथा बनजन्य क्षेत्रमा ४ उद्योगका लागि रु ४४ करोड ७४ लाख बराबरको लगानी प्रतिवद्धता आएको छ ।
गत आवमा विभागमा दई सय ७७ स्वदेशी उद्योग दर्ता भएका छन् । विभागको तथ्यांकानुसार उक्त उद्योगमा रु एक खर्ब ५२ अर्ब ६२ करोड ५२ लाख कुल पूजीँ रहने गरी उद्योग दर्ता भएका छन् ।
स्वदेशी उद्योगमा सबैभन्दा धेरै उर्जा क्षेत्रका ४ उद्योगमा रु एक खर्ब लगानी भएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उर्जामा लगानी धेरै रहेतापनि पर्यटन उद्योगको संख्या धेरै रहेको छ ।
पर्यटन उद्योगमा ९१ उद्योगका लागि रु २० अर्ब ५२ करोड, उत्पादन मुलक क्षेत्रका ६९ उद्योगमा रु १९ अर्ब ४६ करोड लगानी आएको छ । विभागमा विदेशी लगानीमा रहको उद्योगले एघार हजार २११ जनालाई र स्वदेशी उद्योगले १७ हजार ३८८ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् ।
