कोरोना असर- बैंकहरूको नाफा १० प्रतिशत बढीले गुम्यो
कोरोना भाइरसका कारण बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट आएको छ। २७ मध्ये २५ वाणिज्य बैंकले प्रकाशित गरेको आर्थिक वर्ष ०७६/७७ को विवरण अनुसार अघिल्लो वर्षको तुलनामा समग्रमा औसत १० प्रतिशतभन्दा बढीले आम्दानी घटेको हो।
आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंकहरूको कुल नाफा ५७ अर्ब ४४ करोड रूपैयाँ रहेकोमा गतवर्ष २५ बैंकले ५१ अर्ब १७ करोड रूपैयाँ खुद नाफा गरेका छन्। शुक्रबारसम्म कृषि विकास र प्रभु बैंकले आर्थिक वर्ष ०७६/७७ को विवरण सार्वजनिक गरेका छैनन्। कोरोना भाइरसको महामारी नभएको भए आर्थिक वर्ष ०७६/७७ मा बैंकहरूको औसत नाफा २५ प्रतिशत हुने अनुमान गरिएको थियो।
कोरोनाका कारण चैत र असार महिनामा वित्तीय संस्थाहरूले उठाउनुपर्ने साँवा र ब्याज उठाउन नपाउँदा नाफा घटेको बताउँछन्। ‘कर्जाको साँवा र ब्याज उठाउन नपाएपछि नाफा गुम्छ भन्ने अपेक्षा नै गरिएको थियो।राष्ट्र बैंकले कोरोना महामारीले गर्दा व्यवसाय सञ्चालन गर्न नपाएका व्यवसायीलाई लक्षित गर्दै आउँदो असोज महिनासम्म कर्जाको साँवा र ब्याज उठाउने समयावधि थप गरेको छ। त्यस्तै राष्ट्र बैंकले कोरोनाबाट प्रभावित व्यवसायीलाई ब्याज छुट दिन बैंकहरूलाई निर्देशन दिएको छ।
