कर तिर्ने म्याद नथपिने
काठमाडौं – सरकारले मूल्य अभिवृद्धि कर भ्याट र अन्तःशुल्क बुझाउने म्याद थप नगर्ने भएको छ । साउनमा भएको कारोबारको विवरण र कर दाखिला बिहीबार भित्रै गरिसक्नु पर्ने भएको हो । नत्र जरिवाना हुनेछ । लकडाउनका कारण साउनमा व्यावसायिक गतिविधि नभएको र निषेधाज्ञाका कारण कर कार्यालयमा उपस्थित हुन असहज भएको भन्दै व्यवसायीले कारोबार विवरण तथा कर बुझाउने समय थप गर्न माग गरेका थिए ।व्यवसायीले अन्तःशुल्क र मूल्य अभिवृद्धि कर रकम महिना समाप्त भएको २५ दिन भित्र बुझाउनुपर्छ । यसको अर्थ व्यवसायीले साउन महिनाको भ्याट र अन्तःशुल्क बिहीबार नै बुझाउनुपर्छ । व्यवस्थाअनुसार स्वयं निष्काशन प्रणालीअन्तर्गत उत्पादित वस्तुको अन्तःशुल्क बिल जारी भएको महिना सकिएको २५ दिनभित्र बुझाउनुपर्छ भने भ्याटको म्याद २५ दिन नै हो । आयकर भने पहिलो किस्ता स्वरुप ४० प्रतिशत पुस मसान्तसम्म, ७० प्रतिशत चैत मसान्तसम्म र बाँकी असार मसान्तसम्म तिर्नुपर्छ ।आयकरको विवरण भने आय वर्ष सकिएको तीन महिनाभित्रमा बुझाइसक्नु पर्छ । भ्याटको विवरण चाहिँ महिना, दुई महिना वा चार महिना सकिएको २५ दिन भित्र बुझाउनुपर्छ भने अन्तःशुल्कको विवरण महिना सकिएको २५ दिनमा बुझाउनुपर्छ ।
